काठमाडौँ– सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको पदाधिकारी बन्नका लागि १५६ जनाले आवेदन दिएका छन्। सरकारले गठन गरेको टिआरसी सर्च कमिटीको आवेदनका आधारमा हिजोसम्म १५६ जनाको आवेदन अनलाइन र भौतिक उपस्थिति गरी दर्ता भएको सर्च कमिटीका संयोजक ओमप्रकाश मिश्रले बताए।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि भौतिक रूपमा उपस्थित भएर ८९, अनलाइनबाट २०, सङ्घ संस्थाबाट सहमतिमा २० र सहमतिपत्र नभई २७ जनाले तोकिएको मितिभित्र आवेदन दिएको मिश्रले बताए।
उनका अनुसार अनलाइन र भौतिक रूपमा उपस्थित भएर व्यक्तिगत १८ जनाले दुई आयोगको अध्यक्षका लागि आवेदन दिएका छन्। त्यस्तै सङ्घ संस्थाको अनुमति नलिई ११ जना र २ जनाको सहमति लिएर आवेदन परेको उनले बताए।
कुल १५६ जना मध्ये १२५ जनाले महिलासहित दुवै आयोगको सदस्यका लागि आवेदन दिएका छन्। अध्यक्ष मिश्रका अनुसार अब उनीहरूको नाम सार्वजनिक गरिन्छ। उक्त नाममा सार्वजनिक टिप्पणी लिएपछि सिफारिस समितिले काम अघि बढाउने उनले बताए।
सरकारले लामो समयदेखि अलपत्र रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गाउनका लागि कानुन संशोधन गर्दै पदाधिकारी सिफारिस समिति गठन गरेको थियो।