सरकारले फेरि गर्‍यो कुलमानसँग ६ बुँदे स्पष्टीकरणको माग - Chaitanya News
  • 2026-11-17
  • 21:20:17
  • मंगलबार,मंसिर ०२, २०८३
  • सरकारले फेरि गर्‍यो कुलमानसँग ६ बुँदे स्पष्टीकरणको माग

    सरकारले फेरि गर्‍यो कुलमानसँग ६ बुँदे स्पष्टीकरणको माग

    काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग पुनः ६ बुँदे स्पष्टीकरण माग गरेको छ।

    कात्तिक १३ गते ऊर्जासचिव सुरेश आचार्यले बिदाबाहेक सातदिनको म्याद दिएर घिसिङलाई स्पष्टीकरण पत्र पठाएका थिए। १३ गते पत्र पठाए पनि १५ देखि १९ गतेसम्म तिहार बिदा भयो। २२ गते छठको बिदा पर्‍यो। त्यही कारण सरकारले पठाएको पत्रको जवाफ पठाउने अन्तिम दिन आज हो। हालसम्म घिसिङले यसको जवाफ नपठाएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

    सरकारले यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरेको थियो। अहिलेको स्पष्टीकरणमा पहिलेको जवाफ किन समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइनको महसुल किन समयमै नउठाएको, मन्त्रालय मातहतको निकाय भए पनि सबै जानकारी किन माथि नदिएको जस्ता विषय समेटिएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ।

    ऊर्जासचिवले पत्र पठाए पनि उक्त निर्देशन ऊर्जामन्त्री दीपक खड्काको भएको मन्त्रालय स्रोतको भनाइ छ। स्रोतका अनुसार ऊर्जामन्त्री खड्का जसरी हुन्छ कुलमानलाई प्राधिकरणबाट हटाउने पक्षमा छन्। यसमा खड्कालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साथ दिएका छन्। त्यहीकारण आइतबार मन्त्रिपरिषदले काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो।