आज भाइटीका,यस्तो छ भाइटीकाको महत्व - Chaitanya News
  • 2026-05-25
  • 08:37:56
  • सोमबार,जेठ ११, २०८३
  • आज भाइटीका,यस्तो छ भाइटीकाको महत्व

    आज भाइटीका,यस्तो छ भाइटीकाको महत्व

    काठमाडौँ– आज यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन। भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ।

    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

    लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।

    तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।

    टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

    दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि तीन वर्षअघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

    यमराजलाई मन पर्ने जीवजन्तुको पूजाआज गरि यमूनाले दाईलाई खुसी पारेकी थिइन् । बरदानमा कार्तिक शुक्ल द्वितीय तिथिमा दाई–भाईलाई टिका लगाउँदा अकालमा मृत्यु नहुने, दुःख कष्ट नपर्ने, सुस्वास्थ्य र दीर्घायु रहने बरदान प्राप्त गरेको शास्त्रमा उल्लेख छ । सोही कारणले आजको दिन दाजुभाईलाई विधिपूर्वक पूजाअजा गरी सप्तरंगी टीका लगाइन्छ ।

    कसरी गर्ने लक्ष्मी पूजा रु यस्तो छ विधि:
    दाजुभाईले पनि दिदी–बहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन् । सप्तरंगी टिका जस्तै जीवनमा खुसीयाली छाउने कामनाका साथ टीका लगाएर खुशी बाँडिन्छ । साथै ढोकामा ओखर फुटाएमा शत्रुले प्रवेश गर्न नसक्ने र दाजुभाईका शत्रु नाश हुने जनविश्वास छ ।

    – टीकाको दिन बिहानै स्नान गर्नुपर्छ ।
    – सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गर्नुपर्छ ।
    – अष्टचिरञ्जिवी (मार्कण्डेय, व्यास, कृपाचार्य, अश्वत्थामा, पर्शुराम, बली, हनुमान, विभिषण) को पूजा गर्नुपर्छ । यी आठ पुरुषको जस्तै दाजुभाई शक्तिशाली बनुन् भनेर पूजा गरिन्छ ।
    – पानी र तेलले सात घेरा हालेर दाजुभाईलाई छेक्ने र शीरमा तेल लगाई दिने गरिन्छ ।
    – सप्तरंगी टीका लगाउनुपर्छ । यसरी लगाएको टीकाले दाजुभाईको दीर्घायुको कामनाका साथ दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा हुने विश्वास छ ।
    – मखमली, सयपत्री फूलको माला एकअर्कालाई लगाई दिनुपर्छ । मखमलीको कहिल्यै नओइलाउने, सयपत्रीको रंग कहिल्यै जाँदैन । जसकारणले यी फूलको प्रयोग गरिन्छ ।
    – दाजुभाईको मंगलको कामना गर्दै घरको ढोकामा कसैले ओखर फुटाउने गर्दछन् । ओखर फुटाउँदा दाजुभाईको शत्रु नाश हुने विश्वास छ ।
    – कसै–कसैले कडा बोक्रा भएको फल दिँदा अकालमा मुत्यु नहुने, फल जस्तै जीवन कडा भइ राखोस भन्ने पनि हुन्छ ।
    – दिदीबहिनीले दाजुभाईलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ ।
    – टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ ।
    – यी कार्य सबै सकिएपछि रोटी, मिठो खाने कुरा खाएर मनाइन्छ ।

    यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

    “विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ ।

    विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ।