आज लक्ष्मी पूजा, विधि र यसका महत्व - Chaitanya News
  • 2026-05-25
  • 08:53:18
  • सोमबार,जेठ ११, २०८३
  • आज लक्ष्मी पूजा, विधि र यसका महत्व

    आज लक्ष्मी पूजा, विधि र यसका महत्व

    काठमाडौं–  यमपञ्चक अवधिमा गरिने विभिन्न पूजाहरू मध्येको एक विशेष दिन हो ‘लक्ष्मी पूजा’ । तिथि अनुसार कार्तिक कृष्ण अमावस्या अर्थात औँशीका दिन धनकी देवीको पूजा आरधना गरी लक्ष्मी पूजा मनाइन्छ । वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ ।
    बत्ती नबालेको घरमा लक्ष्मीले बास नगर्ने मान्यता छ । आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङ लगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घर सरसफाइ एवम् लिपपोत गरिन्छ । असम्पन्नताको अन्त्य र सम्पन्नताको सुरुवात होस् भन्ने भावना साथ यस दिन लक्ष्मीको पूजा गर्ने चलन छ । यो पर्वले अँध्यारोलाई भगाउने र उज्यालो छर्ने, नकारात्मक ऊर्जालाई हटाउने र सकारात्मक ऊर्जालाई ग्रहण गर्ने, विपन्नतालाई बिदा गर्ने र सम्पन्नतालाई सम्हाल्ने गर्दछ ।
    लक्ष्मी पूजासम्बन्धी किम्बदन्ती :
    सत्ययुगमा वामन अवतार भगवान् विष्णुले दानवराज बलीसँग तीन पाउ भूमि मागेका थिए । तब भगवानलाई सन्तुष्ट पार्न दिपावली गरी दानवराजले वीरको अनुपम उदाहरण प्रस्तुत गरेका थिए । यमपञ्चको अवसरमा गरिएको सो पूजामा लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको मान्यता छ । यसकारण यमपञ्चकमा लक्ष्मी पूजालाई विशेष महत्व दिन थालिएको हो ।
    पूजा विधि:
    – सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्ने । यदि सिमेन्टद्धारा बनेको घर छ भने पानीले सबैतिर पुछ्नुपर्छ ।
    – लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा पनि राम्रोसँग सरसफाइ गरेर गणेश, सरस्वती, लक्ष्मी, श्रीयन्त्र, कुबेरयन्त्र सबैलाई पूजा गर्ने स्थानमा राख्ने ।
    – त्यसपछि दीप प्रज्वलन गरि दियो, कलश र गणेशको पूजा गर्ने ।
    – लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरूको पण्डित वा  तथा आफैं पूजा गर्ने ।
    – त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङ्लोमा धान, चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्ज्वलित गर्नको लागि घ्यू र तेलमा बलेका दियो अगाडि राख्ने ।
    – कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।