तिहारमा कागको पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक तथा पौराणिक महत्व - Chaitanya News
  • 2026-05-25
  • 08:54:36
  • सोमबार,जेठ ११, २०८३
  • तिहारमा कागको पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक तथा पौराणिक महत्व

    तिहारमा कागको पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक तथा पौराणिक महत्व

    हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजवाट तिहार शुरु भएको छ । तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । विशेषगरी काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।

    काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ ।

    विशेषगरी कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । कागलाई यमराजको दूतका रुपमा पूजा गर्ने चलन रहीआएको छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरी कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।

    हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वी लोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ ।

    प्रकृतिको लागि पनि काग नभई नहुने पन्छी हो । यसले हाम्रो ‘इकोसिस्टम’मा पनि ठूलो योगदान पुर्याएको पाइन्छ । हामीले लगाएको बालीनालीलाई हानी नोक्सानी पुर्याउने किरा फट्याङ्ग्राहरुलाई नष्ट गरेर बाली जोगाउन मद्दत गरेको छ । यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउँछ । मानव सभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ ।

    कागलाई सन्देश प्रवाहक प्राणीको रुपमा लिईन्छ । काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै पनि रहेको छ । र यस दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्म अनुसार कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । हामीले दिएको खानेकुरा खाएर प्रशन्न होऊ यमदण्डरुपी संकटबाट मूक्ति दिलाउ भनेर निम्न प्राथना गर्नुपर्दछ ।

    आजका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ । “तिहारमा काग, कुकुर, गाई, गोवर्द्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ”, । यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गरिन्छ ।

    अर्को किंवदन्ती अनुसार वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे । उनी दानी राजाका रुपमा कहलिएका थिए जसका कारण देवतामा समेत त्रास फैलिएको थियो । भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरीक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामन लगायत पुराणमा वर्णन गरिएको छ ।

    विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ । सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा पनि गरिन्छ ।