काठमाडौँ– आइसिसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ। अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो। नेपालले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो।
अमेरिकाको लागि शयान जहाजिंगरले सर्वाधिक एक सय चार रनको योगदान दिए। उनले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेका हुन्। त्यसैगरी कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौकासहित ६२ रनमा बनाए। हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे। शाड्ली भानले शाक्ली २७, जसदीप सिंह र साइतेजा मुकामल्लाले समान ११ रन बनाए भने मिलिन्द कुमारले पाँच रन जोडे।
नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको योगफल बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए।
त्यस्तै ओपनर आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ तथा अनिल साह ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए। त्यसैगरी आरिफ शेख ३७, कुशल भुर्तेल ११, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए। अमेरिका नोष्थुश केन्जिगेले ४ विकेट लिए भने हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान १–१ विकेट लिए। नेपालले अब मङ्गलबार स्कटल्यान्डसँग खेल्नेछ। नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अङ्कविहीन हुँदै ३ अङ्कका साथ सातौँ स्थानमा छ। अमेरिका १० खेलमा ७ मा जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ। क्यानडा १२ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ।