नेता विमलेन्द्र निधि भन्छन् : देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ - Chaitanya News
  • 2026-04-22
  • 23:38:34
  • बुधबार,बैशाख ०९, २०८३
  • नेता विमलेन्द्र निधि भन्छन् : देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ

    नेता विमलेन्द्र निधि भन्छन् : देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ

    काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन्। प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै कांग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताए।

    शनिबार निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए। देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेको निधिले बताए। शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए। निधि भन्छन् , ‘मसँग भेटघाट हुँदा उहाँ संसदीय दलको नेता बन्न इच्छुक हुनुहुन्छ। म उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने पक्षमा छु। मैले उहाँलाई समर्थन गर्छु।’

    देउवा बाहेक अरूलाई सहयोग गर्न नसक्ने निधिले बताए। ‘शेरबरहादुरजीलाई संसदीय दलको नेता बनाउने मेरो पनि ड्युटी हो। उहाँ बाहेक अरूलाई समर्थन गर्न सक्दिनँ,’ उनले भने, ‘मैले शेरबहादुरजीलाई नै समर्थन गर्ने हो। उहाँ इच्छा देखे मैले। मैले सहयोग गर्छु भनेँ।’

    गठबन्धनको नेतृत्व गरिरहेकोले संसदीय दलको नेता देउवा नै हुनुपर्ने निधिको भनाइ छ। ‘नेपाली कांग्रेसबाट जितेका उम्मेदवारमा शेरबहादुरजीकै बहुमत छ। संसदीय दलको नेताको चुनावै भयो भने शेरबहादुरजीकै बहुमत छ। उहाँ इच्छुक हुँदासम्म संसदीय दलको नेता उहाँ नै हो।’

    निधिका अनुसार देउवाले रामचन्द्र पौडेललाई समर्थन नगरेर संसदीय दलको नेता बन्न सक्ने अवस्था छैन। ‘शेरबहादुर देउवाजीले समर्थन नगरेर कोही पनि संसदीय दलको नेता बन्ने अवस्था छैन। रामचन्द्रजी पनि संसदीय दलको नेता बन्नका लागि उहाँले समर्थन गर्नुपर्छ,’ निधिले भने।