४ महिनामा बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा - Chaitanya News
  • 2026-04-27
  • 09:20:20
  • सोमबार,बैशाख १४, २०८३
  • ४ महिनामा बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा

    ४ महिनामा बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा

    काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले थप ४७ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन्। असार मसान्तसम्म यी बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा कात्तिक मसान्तसम्म ४२ खर्ब २२ अर्ब प्रवाह भएको छ।

    चालु आर्थिक वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२.६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य भेटाउन वाणिज्य बैंकहरुले मात्रै सवा ५ खर्ब रुपैयाँ प्रवाह गर्नुपर्छ। तर सुरुवाती ४ महिनामा जम्मा ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुले लक्ष्य भेटाउन नसक्ने देखिएको छ। लक्ष्य भेटाउन ४ महिनामा औसत १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्छ।

    बैंकहरुको निक्षेप संकलनमा आएको सुस्तताको असर कर्जा प्रवाहमा देखिएको छ। ४ महिनामा जम्मा २२ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ। असार मसान्तसम्म कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रहेकोमा कात्तिक मसान्तसम्म आउँदा ४५ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ।

    नेपाल बैंकर्स एसोसिएसनका अनुसार यो ४ महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ। सो बैंकले मात्रै ४ महिनाको अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कर्जा वृद्धि गरेको हो। केही बैंकको कर्जा प्रवाह असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आउँदा घटेको छ। सो अवधिमा एनसीसी बैंकको कर्जा सबैभन्दा धेरै ९ अर्बले घटेको छ।