काठमाडौँ– चितवनका सिडिओसहित तीन जना सहसचिवको सरुवा भएको छ।
गृह मन्त्रालयले बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा तान्दै त्यहाँको सिडिओमा सहसचिव प्रकाश पौडेललाई पठाएको छ।
त्यसैगरी गृह मन्त्रालयमा रहेका गोविन्द प्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पठाइएको छ। अध्यागमनका तत्कालीन महानिर्देशक कोशहरि निरौलाको केही दिन अगाडी सरुवा भएसँगै सो पद रिक्त रहँदै आएको थियो।
मन्त्रालयमा दर्जन बढी सहसचिवहरू बरन्डामा रहे पनि अझै व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। कतिपय जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीहरू पनि परिवर्तन गर्नुपर्ने भए पनि निर्णय लिन नसक्दा सहसचिवहरू जिम्मेवार विहीन भएका छन्।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार यसरी अतिरिक्तमा रहेका सहसचिवहरूलाई आज साँझसम्ममा थप व्यवस्थापन गरिने जानकारी दिए ।