काठमाडौं– आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको भक्ति भावमा साथ पूजा तथा आराधना गरिन्छ। चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ।
नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गरिन्छ। चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पक्वान्न, एवं रातो रङका पुस्पहरू प्रिय छन्। चन्द्रघण्टालाई विशेषगरी दूधको परिकार चडाउनु पर्छ। चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ।
शास्त्रमा वर्णन गरिएअनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो। उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ। दश बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गर्नुभएको छ। वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ हो।
देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ। देवीको यो स्वरूप परम शान्ति प्रदायक साथै कल्याणकारी छ। यिनको घण्टीको भयानक ध्वनिले अत्याचारी, दानव, दैत्य तथा राक्षसहरू डराउँछन्। चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने शास्त्रमा वर्णन गरिएको छ। त्यसैले मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई चन्द्रघण्टा देवीको आराधना गर्नुपर्छ।
चन्द्रघण्टा देवीको उपासना गर्दा निम्न मन्त्रको चच्चारण गर्नुपर्छ।
यादेवीसर्वभूतेषुमाँचन्द्रघण्टारूपेणसंस्थिता।
नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः।।