काठमाडौँ– चाडपर्वमा काठमाडौँ प्रहरीले करिब १ दर्जन क्षेत्रमा थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक गरेको छ। दसैँ, तिहार र छठमा सुरक्षा प्रदान गर्नुपर्ने सम्भावित क्षेत्रमा खसी बजारदेखि टिकट काउण्टर सम्मको क्षेत्रमा सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ।
चाडपर्वमा एटिएम बुथ, गहना पसल, बस टिकट काउन्टर, खसी बजार, शक्ति पीठहरू, बसपार्क र बस पकेटलाई सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए। उनले भने– ‘काठमाडौँ बाहिर जाने सवारी साधन छुट्ने स्थल र आर्थिक कारोबार हुने स्थानमा सुरक्षा प्रदान गर्नुपर्ने सुरक्षा विश्लेषण छ।
प्रहरीले स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाडौँमा खाली हुने घर, सरकारी कार्यालय र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार गरेको छ। बैङ्क तथा वित्तीय संस्थाहरूमा लुटपाट हुनसक्ने र पसलहरूमा भिडभाड भएर किनबेचमा असुविधा हुनसक्ने आकलन गर्दै त्यस्ता ठाउँमा थप प्रहरी परिचालन गरिएको छ।
दसैँ, तिहार र छठ पर्वको सुरक्षामा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने योजना रहेको एसएसपी रजौरेले बताए। उनले भने– ‘काठमाडौँको सुरक्षा व्यवस्था चुस्त छ, कुनै पनि घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा सबै व्यवस्थापन गर्ने गरी योजना बनाइएको छ।’