घट्यो चिनी र खाने तेलको बजार मूल्य - Chaitanya News
  • 2026-06-29
  • 00:17:12
  • आइतबार,आषाढ १४, २०८३
  • घट्यो चिनी र खाने तेलको बजार मूल्य

    घट्यो चिनी र खाने तेलको बजार मूल्य

    काठमाडौँ– पछिल्लो समय दैनिक उपभोग्य सामग्रीहरूको बजार मूल्य घटेको छ। नीतिगत रूपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरू सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

    अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैयाँ र खाने तेलमा प्रतिलिटर १० रुपैयाँ घटेको पाइएको छ। यसका साथै नुन, दाल, पिठो, मैदाको पनि मूल्य घटेको छ।

    सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड द्वारा सञ्चालित सुपथ मूल्यका पसलहरूबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरू उपलब्ध भइरहेका छन्। चाडपर्वको समयमा उपभोग्य बस्तुहरूको मूल्य घटेपछि उपभोक्तालाई सहज भएको छ। खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरूमा उपभोग्य सामग्री उपलब्ध रहेको छ।

    अहिले मन्त्री भण्डारीको निर्देशनमा तीव्र रूपमा बजार अनुगमन भइरहेको छ। ७ असोजमा ३५ रुपैयाँ पर्ने बोतलको पानी १सय रुपियाँमा बिक्री गरेको पाइएपछि काठमाडौँ स्थित जिम्बु रेष्टुरेण्टलाई कारबाही गरी ३ लाख रुपैयाँ जरिवाना असुल गरिएको थियो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एम।आर।पी। भन्दा बढी मूल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ।

    मन्त्री भण्डारीले १०० दिनका लागि तयार गरेको कार्ययोजनामा ४हजार ३०० बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पुर्व सूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरू उल्लेख गरेका छन्।

    नियमित रूपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रेका सामानहरू विक्री वितरणमा कमी आएको छ। मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटेलमा गुणस्तरहीन खानेकुरा विक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढङ्गले लाग्ने बताएका थिए। उनले व्यापारिक क्षेत्रको बदमासी र अनियमितता रोक्नुपर्ने बताएका थिए। सोही अनुरूप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन निगितग सुधार गर्दै आएका हुन्।