धुलिखेल– नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाक्रीले स्वास्थ्य क्षेत्रको विकासका लागि राजनीतिक सुद्धिकरण आवश्यक रहेको बताएकी छन्। चैतन्य एकेडेमीले धुलिखेल लज रिसोर्टमा आयोजना गरेको हरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवादमा बोल्दै उनले यस्तो बताएकी हुन्।
स्वास्थ्य प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो। कुनै पनि नागरिक स्वास्थ्योपचारबाट बन्चित हुनु हुँदैन, उनले भनिन्, प्रत्येक नागरिकको स्वास्थ्यमा सहज पहुँच छैन। दूरदराजका जनताले औषधि र उपचार अभावमा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुन सकेको छैन।
पूर्व सहरी विकास मन्त्रीसमेत रहेकी झाक्रीले दूर्गममा सास्थ्यकर्मी जान नमान्ने, स्वास्थ्यकर्मी गए पनि औषधि, पूर्वाधार र उपकर अभाव रहने समस्याको अन्त्य हुनुपर्ने बताइन्। राजनीतिक नेतृत्व जनताको स्वास्थ्यमा गम्भीर रहे मात्रै स्वास्थ्य क्षेत्रको विकास सम्भव रहेको उनको भनाइ थियो।