झापा– हालै सम्पन्न निर्वाचनमा माओवादी केन्द्रबाट झापामा पाँच जनाले उम्मेदवारी दिएका थिए। एक जना प्रतिनिधिसभा र चार जनाले प्रदेशसभामा उम्मेदवारी दिए। गठबन्धनबाट उम्मेदवार बनेका पाँचै जना पराजित भएका छन्।
झापा १ मा प्रदेश उम्मेदवार बनेका श्यामविर लिम्बुलाई राप्रपाकी उम्मेदवार सविना बजगाईले पराजित गरेकी छन्। लिम्बुले १२ हजार २ सय २५ मत ल्याउँदा बजगाई १३ हजार ६१२ मतसहित निर्वाचित भइन्।
यस्तै, झापा २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हरि राना तेस्रो बने। उनले स्वतन्त्र उम्मेदवार स्वतन्त्र नेपाललाई समेत जित्न सकेनन्। रानाले १३ हजार ९ सय २४ मत प्राप्त गर्दै तेस्रो भए। यस क्षेत्रमा एमालेका उम्मेदवार देवराज घिमिरे २८ हजार ६ सय ९७ मत ल्याउँदै विजयी बनेका छन्। स्वतन्त्र उम्मेदवार स्वागत नेपाल २६ हजार ४ सय ४१ मतसहित दोस्रो बने।
झापा ३(२) मा उम्मेदवार बनेका माओवादी केन्द्रका पूर्णसिंह राजवंशी एमालेका उम्मेदवार छवि चुडालसँग पराजित भएका छन्। राजवंशीले १३ हजार ८ सय ३३ मत ल्याएर उपविजेता बनेका छन्। चुडाल १९ हजार ८ सय ७५ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भए।
यस्तै, क्षेत्र नं. ४(१) मा माओवादीका प्रदेशसभा सदस्यका उम्मेदवार झलकसिंह दर्लामी पराजित भएका छन्। प्रदेशका कृषि मन्त्री भएका दर्लामीलाई एमालेका राधाकृष्ण खनालले पराजित गरेका हुन्। खनालले १३ हजार ९ सय ५१ मत र दर्लामीले १२ हजार ३ सय ७३ मत प्राप्त गरे।
झापा ५ (२) बाट उम्मेदवार बनेका माओवादीका रेवतीराज पुरी (गगन) एमालेका उम्मेदवार होमबहादुर थापासँग पराजित भएका छन्। थापाले २४ हजार १ सय २९ प्राप्त गर्दै विजयी बनेका छन् भने गगनले १७ हजार ३ सय १५ मत प्राप्त गर्दै उपविजेता बनेका छन्। गगन यसअघि सुवास नेम्वाङ, दमकको मेयरमा रोमनाथ ओली र यो निर्वाचनमा होम बहादुर थापासँग गरेर तेस्रो पटक पराजित भएका छन्।
झापामा नेकपा एमालेले प्रतिनिधिसभामा ३ सहित ९ सिट जितेको छ । कांग्रेसले प्रतिनिधिसभामा १ सहित ३ सिट र राप्रपाले पनि प्रतिनिधिसभा १ सहित ३ सिट जितेको छ।