राजनीतिक पहुँचमा काम हुँदैन, प्रक्रिया पुगेका काम रोकिँदैनन् : प्रमुख प्रशासकीय अधिकृत भट्ट - Chaitanya News
  • 2026-07-05
  • 06:09:08
  • आइतबार,आषाढ २१, २०८३
  • राजनीतिक पहुँचमा काम हुँदैन, प्रक्रिया पुगेका काम रोकिँदैनन् : प्रमुख प्रशासकीय अधिकृत भट्ट

    राजनीतिक पहुँचमा काम हुँदैन, प्रक्रिया पुगेका काम रोकिँदैनन् : प्रमुख प्रशासकीय अधिकृत भट्ट

    निर्मला कडायत

    काठमाडौं– सुदूरपश्चिमको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण नगर हो। कृषियोग्य जमिनले भरपूर नगरपालिको अधिकांश जनसंख्या कृषिमा निर्भर छ। कृष्णपुरमा धान, गहुँ, तरकारी, चैतेधान, मसुरो र मुङलगायत विभिन्न खेतीबाट किसानले मनग्य उब्जनी लिन सक्छन्। तराईंको पालिका भएकाले सबै पालिकामा बाटाघाटा, शिक्षा, स्वास्थ्य र खानेपानीको राम्रो सुविधा छ। कृष्णपुर–२ बाणीमा त्रयम्वकेश्वर महादेव मन्दिर छ। जो धार्मिक पर्यटकीय गन्तव्य बन्ने गरेको छ। यसरी हेर्दा कृष्णपुर सुगम पालिका हो ।

    कृष्णपुरको पूर्वमा कैलालीको गोदावरी नगरपालिका, पश्चिममा शुक्लाफाँटा नगरपालिका, उत्तरमा चुरे पर्वत र दक्षिणमा लालझाडी गाउँपालिका छ। सुगम पालिका भएकै कारण कर्मचारीको रोजाइमा पनि कृष्णपुर पर्ने गरेको छ। खकेन्द्र प्रसाद भट्ट कृष्णपुरको प्रमुख प्रशासकीय अधिकृत छन्। उनले जिम्मेवारी सम्हालेको ४ महिना पुग्यो।

    उनले छोटो समयमा पालिकामा जनअपेक्षाका क्षेत्रको पहिचान गर्दै सोही अनुरुप काम गरिरहेको बताएका छन्। मैले जनताको चाहना अनुरुप नै काम गरिरहेको छु। उहाँहरूका अपेक्षा र यहाँको आवश्यकता पहिचान गर्दै सोही अनुरुप हामीले सेवा प्रवाह गरिरहेका छौं भट्टले भने ।

    उनले आफूहरूले प्रशासनिक व्यवस्थापन चुस्त राख्नुका साथै जनप्रतिनिधिसँग मिलेर काम गरिरहेको बताए। हाम्रो तहबाट हुने सेवामा चुस्तता दिएका छौं। जनअपेक्षा जनप्रतिनिधिलाई भन्ने गरेका छौं। बुझ्ने जनप्रतिनिधि भएकै कारण हामीलाई काममा असहज छैन,उनले भने।

    जनतामा चाँडो सेवा पाउने अपेक्षा हुने भएकाले सोही अनुरुप सेवा प्रवाह गरिरहेको उनले बताए। कृषियोग्य क्षेत्र भएकाले कृषकका समस्या समाधानमा पनि जनप्रतिनिधिसँग मिलेर सेवा प्रवाह भइरहेको भट्टको भनाइ छ।

    मैले यहाँ प्रमुख प्रशासकीय अधिकृत भएर आएको दिनबट यहाँका कर्मचारीसँग बस्ने, छलफल गर्ने, वडा सचिवसँग बस्ने र आएका सेवाग्रहीसँग उहाँहरूले चाहिरहनु भएको सेवाका बारेमा बुझ्ने गरेको छु। हाम्रो चाहाना भनेकै जनतालाई गुणस्तरीय सेवा प्रवाह हो, उनले भने।

    उनले पालिकामा जनताका अपेक्षा धेरै रहेको बताए। घर नजिकको सरकार भएकाले पनि पालिकामा जनअपेक्षा धेरै हुने गरेको उनी सुनाउँछन्। जनताका अपेक्षा धेरै भए पनि सहज रुपमा सेवा प्रवाह गर्न प्रविधि र जनमैत्री बनाउने आफ्नो प्रयास जारी रहेको ऐर सुनाउँछन्।

    प्रशासनिक प्रमुख भएकाले आफूले कर्मचारीलाई समय–समयमा बैठक बोलाएर आवश्यक निर्देशन दिने गररेको उनले जानकारी दिए। कर्मचारीलाई काममा लगाउन कुनै अप्ठेरो छ भने त्यसको समाधान पनि गर्ने गरेको उनी बताउँछन्। पालिकामा कुनै समस्या छ वा जनतालाई दिने सेवामा कुनै कमि आएको पाएमा सबै कर्मचारीले छलफल गरेर समाधान गर्ने गरिएको उनले बताए।

    सेवाग्रहीले आवश्यक प्रक्रिया पूरा गरेर आउँदा सेवा प्रवाहमा थप सहजता हुने उनको भनाइ छ। कुनै कागज कम भएमा सेवा दिन नसकिने भएकाले कतिपय अवस्थामा राजनीतिक पहुँचका भरमा मेरो काम हुनुपर्यो भन्ने जनभावना पनि हुन्छ। त्यसलाई भने हामी स्वीकार्न सक्दैनौं, अधिकृत भट्टले भने।