खेलकुद र परिकार मार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर - Chaitanya News
  • 2026-06-07
  • 02:36:02
  • शनिबार,जेठ २३, २०८३
  • खेलकुद र परिकार मार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

    खेलकुद र परिकार मार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौँ– नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटेल संघ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसिया बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    काठमाडौँमा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५ औँ काँग्रेसमा होटेल संघ नेपालका अध्यक्ष विनायक शाह र सो मञ्चका अध्यक्ष हे डन जुंगबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

    अध्यक्ष कोरियाली पत्रकार हे डन जुंगले नेपाली रैथाने परिकारको अन्तर्राष्ट्रिय सद्भावना दूतको जिम्मेवारी वहन गरेका छन्।

    उक्त काँग्रेसमा भाग लिन नेपाल आएका ७० भन्दा बढी विभिन्न देशका वरिष्ठ खेलकुद पत्रकारको सम्मानमा होटेल संघ नेपालले आयोजना गरेको रात्रि भोजमा १० नेपाली मास्टर सेफहरूले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थहरूबाट स्वागत सत्कार गरिएको थियो।

    स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार र आयोजक होटेल संघ नेपाल, पर्यटन सम्बद्ध संस्था, नेपाल खेलकुद पत्रकार मञ्चका पदाधिकारीबीच खेलकुदलगायत पर्यटन प्रवर्द्धनका विविध विषयमा भावी कार्य योजनाबारे छलफल भएको हानले बताएको छ।