नतिजामा नभइ प्रक्रियामा ध्यान केन्द्रित गर्दा लोकसेवामा सफलता मिल्छ : खुमलाल भुसाल - Chaitanya News
  • 2026-09-22
  • 16:36:10
  • मंगलबार,आश्विन ०६, २०८३
  • नतिजामा नभइ प्रक्रियामा ध्यान केन्द्रित गर्दा लोकसेवामा सफलता मिल्छ : खुमलाल भुसाल

    नतिजामा नभइ प्रक्रियामा ध्यान केन्द्रित गर्दा लोकसेवामा सफलता मिल्छ : खुमलाल भुसाल

    स्थानीय पालिका जनताको घर दैलोका सरकार हुन्। गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूति जनताले त्यही सरकारको सेवा प्रवाहबाट अनुभूत गर्छन्। त्यहाँ पनि थुप्रै समस्या छन्। कतिपय पालिकामा कर्मचारी र जनप्रतिनिधिबीच विवाद छ। कति पालिका भौगोलिक रुपमा निकै कठिन् छन्। कतिपयले कर्मचारी अभाव खेपिरहेका छन्। तै पनि जनप्रतिनिधि र कर्मचारी सेवा प्रवाहमा तल्लिन् छन्। स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत कर्मचारीको नेतृत्वकर्ता हो। उसले प्रशासनीक संयन्त्र कसरी चलाउने भन्ने भूमिका निर्वाह गरिरहेको हुन्छ। त्यसैले चैतन्य खबरले पालिकाका समस्या र सम्भावनामा केन्द्रित रहेर विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गर्दै आएको छ। आजका लागि निर्मला कडायतले अर्धखाँचीको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालसँग संवाद गरेकी छन् :

    तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृको जिम्मेवारी सम्हाल्नुभएको कति भयो ?

    मैले सन्धिखर्क नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको डेढ वर्ष भयो।

    यो अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र माहोल कस्तो पाउनु भयो ?

    मैले यता जनप्रतिनिधिको राम्रो साथ र सहयोग पाइरहेको छु। समन्वयात्मक तरिकाले काम गरिरहेका छौं।

    पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?

    पालिकामा जनताका अपेक्षा त थुप्रै हुन्छन्। जुन स्वाभाविक पनि हुन्। तर, विषेश अपेक्षा भनेको कर्मचारीबाट प्रदान हुने सेवा छिटो छरितो होस् भन्ने नै हो। समयमा र झन्झटरहित ढंगबाट सेवा पाउँदा जनता खुसी हुन्छन्। हामी सोही अनुरुप काम गरिरहेका छौं। जनताले सेवा लिँदा कुनै दुःख र सास्ति खेप्न नपरोस् भन्नेमा हामी सचेत छौं।

    तपाईंले पालिकामा प्रशासकीय कार्यशैलीको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

    पालिकाका जनतालाई सेवा दिने भनेर हामी आएका हौं। त्यसका लागि हामीसँग विभिन्न सङ्यन्त्र छन्। विभिन्न शाखा छन्। शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्तता पार्ने छौं। विभिन्न वडा र शाखाबाट आएका रिर्पोटको अध्ययन गर्दै त्यहाँका समस्याको पहिचान गरेर समाभान हुनेगरी काम गर्ने छौं।

    कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?

    कर्मचारीको त अभाव नै छ। यसले हामीले अपेक्षित रुपमा सेवा प्रवाह गर्न सकिरहेका छैनौं। कर्मचारी अभावका कारण पनि जनअपेक्षा अनुसार सेवा दिन सकिरहेका छैनौं। कर्मचारीको अभाव छ भन्दैका हामीले कुनै सेवा रोकेका वा सेवाग्राहीलाई सास्ति दिएको अवस्था भने छैन। हामीसँग भएको जनशक्तिबाट नै व्यवस्थापन गरेर कामलाई अगाडी बढाइरहेका छौं। दरबन्दी अनुसारको कर्मचारीको पदपूर्ति हुन सकेको छैन। प्रदेश लोकसेवाबाट सिफारीस भएर आउनेक्रममा हुनुहुन्छ।

    के भइदिएमा अझै गुरस्तरीय सेवा प्रवाह गर्न सकिन्छ जस्तो लाग्छ ?

    दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन जरुरी छ। कर्मचारी अभावले संस्थागत र क्षमतागत दुवै विकास हामीले गर्न सकिरहेका छैनौं। प्राप्याप्त कर्मचारी भइदिएमा स्थानीय तहबाट हुने सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सकिन्थ्यो।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, लोकसेवा तयारी गरिरहनुभएका परिक्षार्थीलाई के सुझाव दिन चाहानु हुन्छ ? कसरी तयारी गर्दा लोकसेवाका सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?

    लोकसेवा यस्तो क्षेत्र हो,जहाँ किताबी ज्ञान त चाहिन्छ नै त्यसका अलवा अतिरिक्त ज्ञानको पनि आवश्यकता पर्छ। चाँडै हार मान्नु हुँदैन। हामी प्रक्रियामा ध्यान केन्द्रित हुनुपर्छ। नतिजामा ध्यान दिनुहुँदैन। प्रक्रिया सही भयो भने नतिजा पनि सही हुन्छ। यसकारण आफ्नो सकारात्मक कुरा, विज्ञता र कमजोरीको मूल्यांकन आफैँले गर्नुपर्छ र कमजोरीलाई सुधार गर्दै जानुपर्छ। आफूलाई मन पर्ने विषय र सहज लाग्ने विषयबाट सुरु गरेर जटिल विषयमा प्रवेश गर्नुपर्छ। अध्ययन तालिका बनाएर पढ्दा राम्रो हुन्छ।