बिदाका दिनमा पनि सरकारी अस्पतालले ओपिडी लगायतका सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक - Chaitanya News
  • 2026-05-04
  • 05:40:49
  • आइतबार,बैशाख २०, २०८३
  • बिदाका दिनमा पनि सरकारी अस्पतालले ओपिडी लगायतका सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक

    बिदाका दिनमा पनि सरकारी अस्पतालले ओपिडी लगायतका सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक

    काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालले ओपिडी (बहिरंग) लगायतका सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक गरेको छ।

    मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै पर्व बिदा, जात्रा बिदा र जन्मजयन्ती बिदा अन्तरगत पर्ने सार्वजनिक बिदामा पनि अरु दिनजस्तै सरकारी अस्पतालबाट सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक गरेको हो। सर्वसाधारणको सुविधाका लागि उक्त बिदाका दिनमा समेत स्वास्थ्य सम्बन्धी सेवा सञ्चालन गर्न अनुरोध गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

    सार्वजनिक सूची अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा (वैशाखे पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्ही (ज्यापु दिवस), तमु ल्होसार, माघी पर्व (माघे संक्रान्ति), सोनम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, ईद (ईद उल फित्र) र बगर ईद (ईद उल अजहा)का दिन अरु दिनमा जस्तै सरकारी अस्पतालले ओपिडी सहितका सेवा दिनुपर्नेछ।

    जात्रा बिदा अन्तर्गत गाईजात्रा इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा बिदाका दिनमा पनि अरु दिनमा जस्तै ओपिडी सेवा दिनुपर्नेछ। सार्वजनिक दिवस अन्तरगत गणतन्त्र दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तराष्ट्रिय महिला दिवसको दिनमा सरकारी अस्पतालले ओपिडी सेवा सहितको सेवा दिनुपर्नेछ। जन्मजयन्ती बिदा अन्तर्गत बुद्ध जयन्ती र पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का दिन पनि अरु दिनमा जस्तै ओपीडीसहितका सेवा सरकारी अस्पतालले दिनुपर्ने छ।