झापा– कोशी प्रदेशमा एक हजार ६५ जना डेङ्गी संक्रमित भएका छन, गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन्। यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र बिर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन्। झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ।
कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको संख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ। ताप्लेजुङमा भने डेङ्गीको एक जना पनि सङ्क्रमित पाइएको छैन।
स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ। यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँच जना, खोटाङमा चार जना र तेह्रथुममा दुई जनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ।
गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो। वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी सङ्क्रमण भइसकेको थियो।
झापामा साउन १ गतेयता सबैभन्दा धेरै बिर्तामोडमा ८१ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ। त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सात जना र भद्रपुरमा पाँच जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ। रासस