काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ। महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्था बमोजिम प्रमुख प्रशासकीय स्तरीय निर्णयबाट नगर प्रहरी नायव निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायव निरीक्षकमा तह वृद्धि गरिएको हो।
तह वृद्धि गरिएका प्रहरीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै बिहीबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिए।
यस्तै प्रशासन विभागका प्रमुख नमराज ढकाल, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेसहित अधिकारीहरूले महानगरपालिकाका नीति, योजना तथा कार्यक्रम र सहरी सुशासनमा नागरिकले नगर प्रहरीमाथि विश्वास गरेको बताउँदै यो विश्वासमा आँच आउन दिन नहुने बताए।