आज गङ्गा दशहारा पर्व मनाइँदै - Chaitanya News
  • 2026-11-18
  • 03:02:57
  • मंगलबार,मंसिर ०२, २०८३
  • आज गङ्गा दशहारा पर्व मनाइँदै

    आज गङ्गा दशहारा पर्व मनाइँदै

    काठमाडौं ।  हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । जेष्ठ शुक्ल दशमीका दिन गङ्गा स्नान गरेर व्रत बसी अन्न, द्रव्य दान दिनाले महापातक पाप नास हुने हिन्दू मैथिल जनविश्वास रहेको छ ।

    पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने यस दिनलाई मिथिला क्षेत्रमा  गङ्गा दशहारा पर्वका रुपमा मनाइने परम्परा रहि आएको छ ।

    गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर आफू नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ ।

    आज बिहानैदेखि महोत्तरीका रातु, मरहा, अङ्कुशी र जङ्घासहितका नदी र लक्ष्मीसागर, भार्गव, वरुण, पुरन्दर र ध्रुवकुण्डमा स्नान गर्नेको भीड छ ।