सुशासन,दिगो विकास र समृद्ध सुदूपश्चिम सेमिनार २०८० सम्पन्न - Chaitanya News
  • 2026-11-18
  • 04:17:36
  • मंगलबार,मंसिर ०२, २०८३
  • सुशासन,दिगो विकास र समृद्ध सुदूपश्चिम सेमिनार २०८० सम्पन्न

    सुशासन,दिगो विकास र समृद्ध सुदूपश्चिम सेमिनार २०८० सम्पन्न

     

    चैतन्य एकेडेमी र चैतन्य पाठशालाको आयोजनामा बुधवार धनगढीमा सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलन २०८० सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले मुलुकमा राजनीति, प्रशासन र सुशासनका सूचकांकहरु सकारात्मक नभएको भन्दै चिन्ता व्यक्त गरे। तथापि राजनीति र प्रशासन जिम्मेवार भए सुशासन र समृद्धि कायम हुने मैनालीको विश्वास थियो।

    सुशासन र समृद्धिको अन्तर सम्बन्ध रहेको चर्चा गर्दै मैनालीले समृद्धिको न्यूनतम शर्त सुशासन भएको बताए।
    मुलुकमा नैतिक पूर्बाधारको अभाव रहेको चर्चा गर्दै नैतिक पूर्बाधार बिना भौतिक पूर्बाधारले अर्थ नराख्ने पूर्व गृह सचिव मैनालीको भनाई थियो।

    सुदूर पश्चिम प्रदेशका प्रमुख सचिव डा. हरी प्रसाद लम्सालले सुदूर पश्चिम प्रचुर संभावना रहेको प्रदेश भएपनि यहाँका संभावनालाई साकार पार्न सके देशकै विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

    दिगो विकास लक्ष्य पुरा गर्ने दिशामा सरकारसंग निजी क्षेत्रको समेत योगदान आवश्यक भएको औल्याए।

    चैतन्य पाठशालाले आयोजना गरेको सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषय सम्मेलनले दिगो विकास लक्ष्य प्राप्तीका लागि योगदान पुर्याउन निजी क्षेत्रलाई उत्प्रेरित गर्ने बताए।

    उनले बिगतमा सुदूर पश्चिमको भौतिक पूर्बाधार र विकास अपांग मैत्री हुन नसकेको स्वीकार गर्दै आगामि दिनमा भौतिक पूर्बाधार निर्माण अपांग मैत्री बनाउन पहल गर्ने बताए।

    कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले सुशासन, समृद्धि र विकासका लागि राजनैतिक नेतृत्व ईमान्दार हुन आवश्यक भएको बताए।

    उनले राजनैतिक नेतृत्व इमानदार नहुँदा मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको बताए।

    सुदूर पश्चिम प्रदेश सभाका सदस्य धर्मराज पाठकले मुलुकमा केही पनि विकास नभएको नराकात्मक सन्देश फैलाईएको बताउदै उक्त कुरा सत्यमा नभएको बताए।

    २० वर्षमा विकास नभएको होईन। तर जन अपेक्षा अनुसार हुन नसकेको सही हो, पाठकले भने, निती निर्माणमा पछाडि परेका बर्ग र समुदायको सहभागिता र समावेशिता गणतन्त्र पछि नै संभव भएको हो।

    नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुशिला मिश्र भट्टले हरेक तहमा महिलाको सहभागितालाई संबिधानले सुनिश्चित गरेको बताईन। यद्दपि त्यसको कार्यान्वयनमा कमि भएको मिश्रको भनाई थियो।

    चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत(सिईओ) गणेश प्रसाद जोशीले विकास र समृद्धि कुनै प्रशासनीक एजेण्डा नभई यो जनतासंग जोडिएको विषय भएको बताए।

    समृद्धिको जति रटान गरेपनि समृद्धिको मोडेलमा चिन्तन नभएको चर्चा गर्दै जोशीले समृद्धि र सुशासनका लागि चैतन्य पाठशालाले बौद्धिक बहसको शुरुवात गरेको बताए।

    उनले सुशासन, विकास र समृद्धिका लागि निजी क्षेत्रका तर्फबाट आयोजना गरिने यस्ता कार्यक्रमले सकारात्मक दिशा निर्देश गर्ने विश्वास गरे।

    सेमिनारमा बिभिन्न विषयमा बहस गरिएको थियो। प्रदेश सभा सदस्य धर्मराज पाठक, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट, अधिकारकर्मी तथा नागरिक समाजका अगुवा खडक राज जोशी र अशोक बिक्रम जैरु वक्ता रहेको सुसंस्कृत राजनीति, सुशास र समृद्धि विषय बहसको सहजीकरण पत्रकार दीर्घराज उपाध्यायले गरेका थिए।

    सेमिनारमा कला,संस्कृति, भाषा, साहित्य, शिक्षा, सामाजिक सद्भाव, समाबेशिता, परम्परा, उद्योग व्यवसायमा केन्द्रित रहेर गरिएको बहसमा प्रा।डा।हेमराज पन्त, मदन पुरस्कार बिजेता रामलाल जोशी, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र सामाजिक अभियन्ता ठाकुर करिया प्रधान वक्ताका रुपमा रहेको समृद्ध सुदूर पश्चिमका आयामहरु विषयक बहसको सहजिकरण कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक सिताराम भट्टले गरेका थिए।

    सेमिनारमा निर्बाचन आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई निजामती सेवा र निर्बाचन आयोगको नेतृत्वमा रहदा पुर्याएको योगदानको कदर गर्दै चैतन्य एकेडेमीद्धारा सम्मान गरिएको थियो।

    सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक डा। हेमराज पन्तले मुलुकमा व्यवस्था फेरिएपनि जनताको अवस्था नफेरिएको बताए।

    प्रा.डा. पन्तले सुदूरपश्चिमका आम मान्छेको जीवनस्तर र जनजीविकामा कुनै पनि व्यवस्थाले परिवर्तन ल्याउन नसकेको बताए।

    उनले रोजगारीका अवसर सृजना नहुदा सुदूर पश्चिमको दक्ष जनशक्ति रोजगारीको खोजीमा भारत तथा अन्यत्र पलायन भईरहेको बताए।

    चैतन्य ईन्स्टिच्यूट फर रिसर्च एण्ड डेभलोपमेन्टका अध्यक्ष प्रा।डा। हेमराज पन्तको अध्यक्षतामा आयोजित सेमिनारमा बिभिन्न राजनैतिक दल, पेशागत संघसंगठन, विकासकर्मी, शिक्षक, विद्यार्थीहरुको सहभािगता रहेको थियो।

    काठमाण्डौंको शंखमुलमा केन्द्रीय कार्यालय रहेको चैतन्य एकेडेमीले सुशासन, दिगो विकास र समृिद्धलाई केन्द्रमा राखेर काठमाण्डौंमा विगत ११ वर्षदेखि राष्ट्रिय स्तरको सेमिनार आयोजना गर्दै आएको छ। एकेडेमीले सुदूर पश्चिम प्रदेशमा आयोजना गरेको यो पहिलो सेमिनार हो।