व्यवसायी नतर्साउन प्रधानमन्त्रीको निर्देशन छ : अर्थमन्त्री पुन - Chaitanya News
  • 2026-06-24
  • 14:20:36
  • बुधबार,आषाढ १०, २०८३
  • व्यवसायी नतर्साउन प्रधानमन्त्रीको निर्देशन छ : अर्थमन्त्री पुन

    व्यवसायी नतर्साउन प्रधानमन्त्रीको निर्देशन छ : अर्थमन्त्री पुन

    काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन्।

    नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौँमा जारी ५८औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रियामा मन्त्री पुनले सरकारलाई राजस्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरे।

    मन्त्रिमण्डल पुनर्गठनपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफूलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई अकारण तर्साउने खालका प्रचारमुखी काममा नलाग्न निर्देशन दिएको उनको भनाइ थियो।

    मन्त्री पुनले गल्ती गर्नेमाथि पर्याप्त छानबिन गरी तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने भए पनि व्यक्तिको सामाजिक प्रतिष्ठामै आँच पुग्ने काम नगर्न अनुसन्धान गर्ने निकायका अधिकारीलाई आग्रह गरे।

    लोकतान्त्रिक मुलुकमा कोही पनि कानुनमाथि नहुने स्पष्ट गर्दै कुनै पेसा र व्यवसायका व्यक्ति विशेषमाथि आरोप लाग्दा सामग्र क्षेत्रमाथि आरोपित गर्ने प्रवृत्ति राम्रो नभएको उल्लेख गरे।

    राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न नहुनेमा जोड दिएका मन्त्री पुनले निजी क्षेत्रले राज्यलाई र राज्यले निजी क्षेत्रलाई कमजोर बनाउने काम गर्नु नहुने बताए।

    आगामी दिनमा विवेक प्रयोग गरेर मात्र अनुसन्धान हुने र व्यक्तिका सामाजिक मर्यादाको सम्मान हुनेमा सरकारका तर्फबाट आफूले प्रतिबद्धता जनाउन सक्ने मन्त्री पुनको भनाइ थियो।

    कानुनभित्र बसेर व्यवसाय प्रवर्द्धन गर्ने काम सरकारको भएको भन्दै उनले राज्यलाई कर तिरेर नाफा कमाउन पाउने व्यवसायीको हक सुरक्षित रहेको मन्त्री पुनको स्पष्टोक्ति थियो।