पर्यटन उद्योग विकासका लागि नीतिगत तहमा महत्त्व दिन सरोकारवालाको माग - Chaitanya News
  • 2026-06-24
  • 14:19:21
  • बुधबार,आषाढ १०, २०८३
  • पर्यटन उद्योग विकासका लागि नीतिगत तहमा महत्त्व दिन सरोकारवालाको माग

    पर्यटन उद्योग विकासका लागि नीतिगत तहमा महत्त्व दिन सरोकारवालाको माग

    काठमाडौँ– नेपालको पर्यटन विकासका लागि नीतिगत तहमै प्राथमिकता दिनु पर्ने सरोकारवालाले बताएका छन्।

    नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग गरेको छलफलमा सहभागीले यस्तो बताएका हुन्।

    परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाह सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रूपमा फाइदा लिन नसकेको बताए।

    उनले राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताए।

    युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्नेमा जोड दिँदै उनले त्यसको सुरुवात नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउनु पर्ने बताए।

    निर्माण सम्पन्न भएका तर सञ्चालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि सञ्चालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उनको भनाइ छ।