काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सव समारोहमा बोल्दै राष्ट्रपति पौडेलले संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकता दिएको स्मरण गराउँदै कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका हुन्।
उनले भने, ‘संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था गर्ने, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ। संविधानको यो व्यवस्थाको कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नुपर्छ भन्ने मलाई लाग्छ।‘
स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान गर्न र समाधानका लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी रहेको उनको भनाइ छ।
उनले बदलिँदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिवर्तन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्यलाई आगामी दिनमा अझै सक्रिय भएर अगाडि बढ्नुपर्ने बताए।
राष्ट्रपति पौडेलले स्वास्थ्य क्षेत्रले विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दस्ताबेजहरूद्वारा निर्दिष्ट लक्ष्य तथा दिशाहरूको आधारमा अवलम्बन गरेका स्वास्थ्य क्षेत्रका लक्ष्यहरू प्राप्त गर्न, नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रवर्तनलाई प्रोत्साहित गर्नु जरुरी रहेको बताए।