काठमाडौँमा वायु प्रदूषण किन बढ्यो ? - Chaitanya News
  • 2026-11-18
  • 04:43:31
  • मंगलबार,मंसिर ०२, २०८३
  • काठमाडौँमा वायु प्रदूषण किन बढ्यो ?

    काठमाडौँमा वायु प्रदूषण किन बढ्यो ?

    काठमाडौँ– काठमाडौँको वायुको गुणस्तर पछिल्लो पटक विश्वकै अस्वस्थकर सूचीमा पुगेको छ। सोमबार (चैत २६ गते) बिहान काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १७३ थियो भने मंगलबार १८० पुगेको छ। जनस्वास्थ्यको हिसाबले ५० भन्दा बढी एक्यूआईलाई ‘अस्वस्थकर’ मानिन्छ।

    केही दिन यता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ। यसो हुनुमा कृषि अवशेष जलाउनु, वनमा डढेलो लाग्नु मुख्य कारण रहेको वायु गुणस्तर विज्ञ डा. भुपेन्द्र दास बताउँछन्। ‘नेपालमा वायु प्रदूषण बढेको दुईदेखि तीन हप्ता भयो,’ डा. दासले भने, ‘यो सिजनमा कृषि अवशेष जलाउनु र वन डढेलो लाग्नु वायु प्रदूषणको मुख्य कारण हुन्।

    डा. दासले उद्योग, सवारी साधनले वर्षभर नै वायु प्रदूषण हुने तर अहिलेको सिजनमा डढेलो र कृषि अवशेषका कारण वायुको गुणस्तर थप खस्किएको उल्लेख गरे। वर्षभर हुने वायु प्रदूषणको ५० प्रतिशत हिस्सा अप्रिल महिनाले नै ओगट्ने उनले सुनाए।

    काठमाडौँ उपत्यकामा पछिल्ला समय वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुगेको छ। यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गर्दछ। डढेलो, कृषि अवशेष जलाउनु, सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारण वायु प्रदूषण भएको वातावरण विभागका सिनियर डिभिजनल केमिष्ट दिपक ज्ञवालीले बताए। ‘काठमाडौँ उपत्यका कचौरा आकारको भएकाले यहाँ हावा सजिलै आए पनि निस्किन सक्दैन,’ उनले भने, ‘त्यसैले यहाँ प्रदूषण बढेको हो।

    ज्ञवालीका अनुसार उत्तरपश्चिम र दक्षिण पश्चिमबाट काठमाडौँ उपत्यकामा हावा प्रवेश गर्ने हावा उडेर पूर्वमा साँखुबाट बाहिरिन्छ। तर हावा नचल्ने, पानी नपर्ने भएकाले उपत्यकाको वायु गुणस्तर झनै खराब भएको हो।

    ‘एक पटक काठमाडौँ उपत्यकामा वायु प्रवेश गरेपछि यहाँबाट हावा निस्कान नसक्ने हुन्छ। डा. दासले भने, ‘काठमाडौँ उपत्यकामा माथिल्लो तहमा हावाको वेग चल्ने तर तलको भागमा नचल्ने भएकाले हावा निस्कन सक्दैन। काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणमा आउन पानी पर्नुपर्ने हुन्छ।

    दुई सिजनमा वायु प्रदूषणको जोखिम

    नेपालमा मुख्य गरी जाडो मौसम र हालको मौसम गरी दुई सिजनमा वायुको गुणस्तर घट्ने जोखिम हुन्छ। डा. दासले भने, ‘ड्राई सिजन भनेको चैत र वैशाख हो। यो दुई महिना वायु प्रदूषणको मुख्य खतराको सिजन मानिन्छ।

    डब्ल्यूएचओले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई ‘अस्वस्थ’ मानेको छ। सो अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई ‘खतरनाक’ मानिन्छ। केही साता यता नेपालको वायु गुणस्तर २०० भन्दा बढी पुगेको डा। दासले बताए। ‘नेपालमा पछिल्लो दुईदेखि तीन साता यता वायुको गुणस्तर खस्किएको छ, करिब एक्यूआइ २०० भन्दा बढी समेत भएको छ।

    जोगिन के गर्ने?

    वायु प्रदूषणका कारण दिन प्रतिदिन मानव स्वास्थ्यमा असर पर्दछ। यस्तो अवस्थामा सकेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्नुपर्ने हुन्छ।

    जङ्गलमा लाग्ने डढेलोमा ९० प्रतिशत मानवीय कारण रहने गरेको वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक दिपक ज्ञवालीले बताए। व्यक्ति स्वयंले डढेलो लाग्न नदिन सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

    पछिल्लो समय वायु प्रदूषण बढ्नुको मुख्य कारण पत्ता लगाई त्यसलाई नियन्त्रण गर्नु पर्ने डा. दास सुझाउँछन्। ‘बर्सेनि किन डढेलो लाग्छ, सोको पहिचान गरी नियन्त्रण गर्नुपर्छ,’ उनले भने।

    विशेषतः काठमाडौँ उपत्यका लगायत देशभर नै वायु प्रदूषण बढेको छ। यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनसमेत सम्वद्ध अधिकारीहरूको सुझाव छ।