काठमाडौँ– संसारमा एकसे एक खतरनाक पदार्थ पाइन्छ। तपाईँले कहिले युक्रेनको पिपरियातमा रहेको ‘हात्तीको पाउ’बारे कहिले सुन्नु भएको छ? विज्ञान पत्रिका नटिलसमा छापिएको एउटा रिपोर्टका अनुसार यसलाई पृथ्वीको सबैभन्दा खतरनाक वस्तु मानिन्छ। कोही ३० सेकेन्ड मात्रै यसको सम्पर्कमा आयो भने पनि रक्त कोशिकाहरूबाट रक्तस्राव सुरु हुन्छ। चार मिनेटसम्म यसको नजिक बस्दा झाडापखला र ज्वरो आउन थाल्छ। ५ मिनेटसम्म बस्यो भने २ दिनभित्रै ज्यान जान सक्छ।
हात्तीको पाउ परमाणु विस्फोटपछि पग्लिएका पदार्थबाट बनेको हो। यो चेर्नोबिल नजिकको परमाणु केन्द्रमा सन् १९८६ मा विस्फोट भएको स्थानमा छ। यो विस्फोट यति शक्तिशाली थियो कि यो स्थानको तस्बिर कम्तीमा एक दशकपछि मात्रै खिच्न सकिएको बताइएको छ। त्यसपछि मात्रै पिपरियातको बेसमेन्टमा पग्लिएको सामाग्रीको तस्बिर बाहिर आयो। सन् १९८६ मा यहाँको विकिरण १० हजार रेंटजेन प्रतिघण्टा मापन गरिएको थियो। यो भनेको तीन फिटको दायरामा ३०० सेकेन्डसम्म उभिएको व्यक्तिलाई विकिरणको घातक डोज दिन पर्याप्त थियो।
बेसमेन्टमा विकिरणको प्रभाव यति धेरै छ कि अहिले बिना सावधानी यहाँ जान नसकिने अस्ट्रेलियाका पुरातत्त्वविद् रोबर्ट म्याक्सवेलले बताएका छन्। म्याक्सवेलका अनुसार यहाँ भएका सामानहरू हजारौँ वर्षसम्म पनि खतरनाक रेडियोधर्मीको रुपमा रहनेछन्। त्यसबेला चेर्नोबिल नजिक पिपरियातमा रहेको परमाणु केन्द्रको चार नम्बरको रिएक्टरमा विस्फोट भएको थियो। विस्फोटमा ६ देखि १० टन कङ्क्रिटको पर्खाल हावामा उडेको थियो। त्यसयता उक्त स्थानको हरेक कुना–कुनामा खतरनाक स्तरमा विकिरण छ। कङ्क्रिट, ग्रेफाइट र आणविक इन्धनको अंश हात्तीको पाउको रूपमा अझै पनि छ। एजेन्सी