काठमाडौं– हुम्लामा मतपेटिका अलपत्र परेका छन्। मतदान सम्पन्न भएको चार दिन बितिसक्दा पनि मतपेटिका संकलन भएको छैन।
प्रदेश १ का २२ मतदान केन्द्रका ८८ मतपेटिका सदरमुकाम सिमकोट पुर्याइए पनि प्रदेश २ का ३४ केन्द्रका १३६ मतपेटिका सर्केगाडको केन्द्रमा थन्क्याइएको छ।
हेलिकप्टरबाट नआउँदा मतपेटिका सदरमुकाम पुर्याउन नसकिएको महादेव माध्यमिक विद्यालय दार्मा मतदान केन्द्रका मतदान अधिकृत भीमबहादुर रोकायाले बताए।
धेरै दिनसम्म मतपेटि थन्किएपछि मतदान अधिकृत, कर्मचारी, म्यादी प्रहरी, सुरक्षाकर्मीलाई समेत समस्या भएको रोकायाले बताए ।
४९ कर्मचारी र सुरक्षाकर्मी लिमिमै अलपत्र
लिमीका तीन केन्द्रका मतपेटिका र केही कर्मचारी हेलिकप्टरबाट सदरमुकाम पुर्याइए पनि केही कर्मचारी र सुरक्षाकर्मी भने अलपत्र परेका छन्।
६२ जना कर्मचारीमध्ये ४९ जना लिमीमै अलपत्र परेका छन। मतदान अधिकृत, सुरक्षाकर्मी, गरि १३ जना भने मतपेटिकासहित हेलिकप्टरमा सदरमुकाम आइपुगेका छन्।
लिमीमा अत्याधिक चिसो छ। खानाको समेत समस्या भएको कर्मचारीले गुनासो गरेका छन्। उनीहरू त्यहाँबाट हिँडेर सदरमुकाम फर्किन सक्ने अवस्था छैन।
पैदल फर्किंदा पाँच हजार २०० फिटको न्यालुलेख पर्छ। यहाँ अहिले हिमपात भएको छ।
कर्मचारी र म्यादी प्रहरीको उद्धारका लागि पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी कृष्णराज ओझाले जानकारी दिए।