विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, अर्बपतिको संख्या २ हजार ७८१ पुग्यो - Chaitanya News
  • 2026-06-24
  • 11:50:25
  • बुधबार,आषाढ १०, २०८३
  • विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, अर्बपतिको संख्या २ हजार ७८१ पुग्यो

    विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, अर्बपतिको संख्या २ हजार ७८१ पुग्यो

    काठमाडौँ– अमेरिकाको प्रसिद्ध म्यागजिन ‘फोर्ब्स’ले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ। जसमा विश्वमा अर्ब पतिको संख्या २ हजार ७८१ रहेका छन्। गत वर्षको तुलनामा यो १४१ जना बढी हो।

    यस वर्ष पनि बर्नार्ड आर्नल्ट विश्वका एक नम्बर अर्बपति बनेका छन्। लुइस भिटन तथा सेफोरालगायत फेसन तथा कस्मेटिक ब्रान्डका मालिक बर्नार्ड आर्नल्ट गत वर्ष पनि विश्वका अर्ब पतिको सूचीमा पहिलो नम्बरमा थिए। यी फ्रेन्च अर्ब पतिको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ।

    फोर्ब्सका अनुसार विश्वका डलर अर्बपतिहरूको कूल सम्पत्ति १४।२ ट्रिलियन डलर पुगेको छ। सर्वाधिक अर्बपति भएको देशमा अमेरिका पहिलो स्थानमै परेको छ। ‘फोर्ब्स’का अनुसार अमेरिकामा अर्ब पतिको संख्या ८ सय १३ छ। यसपछि सबैभन्दा धेरै अर्बपति चीनमा ४ सय ७३ जना छन्। अर्ब पतिको संख्यामा भारत तेस्रो स्थानमा छ। जहाँ २ सय जना अर्बपति छन्।

    यसैबीच विश्वका अर्ब पतिको सूचीमा यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४औँ स्थानमा परेका छन्। चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन्। उनको कुल सम्पत्ति १ अर्ब ८ करोड अमेरिकी डलर छ । चौधरी गत वर्ष चौधरी १६ सय ४७औँ स्थानमा थिए।

    नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ।शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ। गत वर्ष भन्दा उनीहरूको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ।

    विश्वका शीर्ष २० अर्बपति:

    १. बर्नार्ड आर्नल्ट:  लुइस भिटन तथा सेफोरालगायत फेसन तथा कस्मेटिक ब्रान्डका मालिक बर्नार्ड आर्नल्ट यस वर्ष पनि विश्वका अर्बपतिको सूचीमा पहिलो नम्बरमा परेका छन्। यी फ्रेन्च अर्बपतिको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ।

    २. एलन मस्क: सामाजिक सञ्जाल एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्क दोस्रो नम्बरमा छन्। उनको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब डलर छ।

    ३. जेफ बेजोस :  तस्रो नम्बरमा रहेका अमेजनका संस्थापक बेजोसको कूल सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ।

    ४. मार्क जुकरबर्ग :  चौथो नम्बरमा रहेका फेसबुकका संस्थापक जुकरबर्गको कूल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर छ।

    ५. ल्यारी इलिसन : पाँचौँ नम्बरमा रहेका ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब डलर छ।

    ६. वारेन बफेट:  वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको कूल सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ।

    ७. बिल गेट्स :  सातौँ नम्बरमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ।

    ८. स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्वसीईओ बाल्मरसँग कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ।

    ९. मुकेश अम्बानी : नवौँ नम्बरमा रहेका अर्बपति भारतीय उद्यमी अम्बानीसँग कूल सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ। एसियाका सबैभन्दा धनी व्यक्ति उनी रिलायन्स कम्पनीका मालिक हुन्।

    १०. ल्यारी पेज ;  विश्वका टपटेन अर्बपतिमा पर्न सफल गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर छ।

    ११. सर्गेइ ब्रिन :  गुगलका सहसंस्थापक ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ।

    १२. माइकल ब्लुम्बर्ग :  अर्बपतिको सूचीमा १२ नम्बरमा रहेका वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर छ।

    १३.अमान्सियो ओर्टेगा :  स्पेनका फेसन तथा रिटेल क्षेत्रका ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ।

    १४. कार्लोस स्लिम हेलु :  टेलिकम कम्पनी अमेरिका मोविलका मालिक मेक्सिकन अर्बपति हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ।

    १५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स :  एल ओरियल ब्रान्डका मालिक फ्रेन्च नागरिक मेयेर्सको कूल सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ।

    १६. माइकल डेल :  डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ रहेका माइकल डेलको सम्पत्ति

    ९१.अर्ब डलर छ।

    १७.गौतम अडानी :  भारतीय अर्बपति गौतम अडानी चर्चित अडानी ग्रुपका अध्यक्ष हुन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ।

    १८. जिम वाल्टन:  फेसन तथा रिटेल क्षेत्रका अर्बपति वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ।

    १९. रव वाल्टन : वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा रव वाल्टनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ।

    २०. जेन्सेन हुआंग : ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ रहेका जेन्सेनको कूल सम्पत्ति ७७ अर्ब डलर छ।