एसएमएस फ्रेन्ड्सिप कपको पहिलो खेलमा नेपालले गुजरातलाई आठ विकेटले हरायो - Chaitanya News
  • 2026-06-07
  • 10:43:31
  • आइतबार,जेठ २४, २०८३
  • एसएमएस फ्रेन्ड्सिप कपको पहिलो खेलमा नेपालले गुजरातलाई आठ विकेटले हरायो

    एसएमएस फ्रेन्ड्सिप कपको पहिलो खेलमा नेपालले गुजरातलाई आठ विकेटले हरायो

    काठमाडौँ– त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले आइतबार खेलिएको आफ्नो पहिलो खेलमा भारतको राज्यस्तरीय टोली गुजरातलाई आठ विकेटले हराएको छ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सकेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो।

    नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रनको योगदान गरे। कप्तान रोहित पौडेलले पनि २६ बलमा अविजित ३३ रन बनाए। ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १६ बलमा १७ रन बनाए। अर्का ओपनर आसिफ शेखले पनि १६ बलमा १६ रन जोडे। गुजरातका बलर तेजस पटेल र हेमांग पटेलले एक(एक विकेट लिए।

    त्यसअघि गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए। उनले १४औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए।

    नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे। उनले ३.२ ओभरमा २२ रन खर्चिए। सोमपाल कामीले पनि एक विकेट लिए। गुजरातका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए। गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाएका थिए।

    छैटौँ नम्बरका ब्याट्सम्यान हेमांग पटेलले पनि टोलीको खातामा २० रन थपे। अभिषेक देसाईले ११ रन बनाए। समित पटेलले १० रन बटुले। गुजरातले अतिरिक्त रुपमा केवल दुई रन पायो। नेपालले दोस्रो खेल अप्रिल २ तारिखमा बरोडासँग खेल्नेछ।