नेपालले टस जितेर पहिले गुजरातलाई ब्याटिङको निम्तो दियो - Chaitanya News
  • 2026-06-07
  • 10:43:23
  • आइतबार,जेठ २४, २०८३
  • नेपालले टस जितेर पहिले गुजरातलाई ब्याटिङको निम्तो दियो

    नेपालले टस जितेर पहिले गुजरातलाई ब्याटिङको निम्तो दियो

    काठमाडौँ– राज्यस्तरीय क्लबसँग त्रिकोणात्मक टी– २० क्रिकेट शृङ्खला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार गुजरातविरुद्धको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ। नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो।

    खेल नेपाली समय अनुसार, दिउँसो २ः४५ बजे सुरु हुनेछ। उक्त शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको थियो। नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख र कुशल भुर्तेल रहेका छन्।

    यसैगरी टोलीमा कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकाश चन्द पनि रहेका छन्। नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहेका छन्।

    भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी–२० शृङ्खला खेल्ने कार्यक्रम रहेको छ। मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले भारतको गुजरात र बरोडा क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

    नेपाली टोलीले जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागेको हो। ‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेल अप्रिल १ तारिखमा गुजरात र बरोडाबिच हुनेछ।

    यसैगरी तेस्रो खेल नेपाल र बरोडाबिच अप्रिल २ तारिखमा खेलिने छ। अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ। अर्को खेल अप्रिल ४ तारिखमा बरोडा र गुजरातबिच खेलिने छ। लिग चरणको अन्तिम खेल अप्रिल ५ तारिखमा नेपाल र बरोडाबिच खेलिने कार्यक्रम रहेको छ।

    त्यसपछि लिग तालिकाको सबैभन्दा माथि रहने दुई टोलीबिच अप्रिल ७ तारिखमा शृङ्खलाको फाइनल खेल खेलिने छ। भारत प्रस्थान गर्नुअघि नेपाली टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ टोलीसँग दुईवटा टी–२० खेलको शृङ्खला खेलेको थियो। शृङ्खलामा नेपाल २–० ले विजयी भएको थियो।