विदेशी मुद्रा सञ्चितिमा भएको सुधार आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्छ - Chaitanya News
  • 2026-06-24
  • 09:10:33
  • बुधबार,आषाढ १०, २०८३
  • विदेशी मुद्रा सञ्चितिमा भएको सुधार आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्छ

    विदेशी मुद्रा सञ्चितिमा भएको सुधार आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्छ

    काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन्। आज (आइतबार) पोखरामा भएको गण्डकी प्रदेशको वार्षिक सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

    कार्यक्रमको प्रमुख अतिथि ढकाल थिए। गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले बताए। महासङ्घको विधानमा वार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे।

    ढकालले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासङ्घको वार्षिक साधारण सभा आयोजना गर्ने बताए। उनले महासङ्घको अध्यक्षको हैसियतमा पहिलो वर्ष नै सङ्कटग्रस्त अर्थतन्त्रको सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्रलाई प्रतिष्ठा प्रदान गर्न धेरै पहल गरेको बताए।

    महासङ्घका अध्यक्ष ढकालले विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्ने बताए। ढकालले लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको बताए। ‘उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नु परेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने कुरा सम्बन्धित निकायले बुझेका छैनन्,’ उनले भने।

    राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थालेको अध्यक्ष ढकालले बताए। बजार अनुगमन बढेको गुनासो आइरहेको उनले बताए। उनले नियम विपरीत काम नगर्न व्यवसायीलाई आग्रह गर्दै निजी क्षेत्रलाई आतङ्कित नगर्न सरकारसँग आग्रह गरे।

    अध्यक्ष ढकालले महासङ्घले चाँडै लगानी कम्पनी खोल्ने तर त्यो महासङ्घको स्वामित्वमा नहुने जानकारी दिए। मुलुकभरका व्यवसायीलाई एकै ठाउँमा ल्याउने पहल भएको र पछि व्यावसायिक रूपमा सञ्चालन गरिने उनले जानकारी दिए। गैरआवासीय नेपाली तथा अन्य निजी क्षेत्रका संस्थाले पनि यसमा लगानी गर्न सक्ने उनले बताए।