वासिङ्टन डीसी– अमेरिकी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एटीएन्डटीका डेटा चुहिएको छ। सो कम्पनीको ७ करोड ३० लाख जना प्रयोगकर्ताको डेटा अनलाइनमा चुहिएको हो। डाटा चुहिनेमा वर्तमान र पूर्व प्रयोगकर्ता रहेका छन्।
कम्पनीले बताएअनुसार ठेगाना, सामाजिक सुरक्षा नम्बर र पासकोड समेतका जानकारीहरू डार्क वेबमा सार्वजनिक भएको छ। डेटा चोरी भएको छ कि छैन भन्ने कम्पनीले खुट्याउन नसकेको बताइएको छ। यस मामिलाबारे साइबर सुरक्षा विज्ञहरूले छानबिन गरिरहेका छन्। ग्राहकहरूले आफ्नो पासकोड स्वतः रिसेट गर्छन्।
उनीहरूलाई बेला बेलामा आफ्नो एकाउन्टमा हुने गतिविधि र क्रेडिट रिपोर्टबारे सतर्क रहने अनुरोध गरिन्छ। सन् २०१९ वा सो भन्दा अघि देखिका डेटाहरू चुहिएका छन्। जानकारी चुहिनेमा कम्पनीका ७६ लाख ग्राहक र ६ करोड ५४ लाख पूर्व खातावालाहरू परेको बताइएको छ। यसमा पूरा नाम, इमेल ठेगाना, जन्म मिति आदि जानकारीहरू पनि भएको बताइएको छ।
डार्क वेबमा वित्तीय जानकारीहरू भने नचुहिएको कम्पनीले बताएको छ। डेटा कम्पनीको आफ्नो सिस्टमबाट चुहिएको हो वा तेस्रो पक्षको आपूर्तिकर्ताबाट भन्ने थाहा नभएको एटिएन्डटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अमेरिकामा एटीएन्डटीका करिब २८ करोड प्रयोगकर्ता छन् । यो अमेरिकाको सबैभन्दा ठुलो मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो। एजेन्सी