काठमाडौँ– महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस भएका छन्।
संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको एक नेताले बताए।
महालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुने प्रावधान रहेको छ।
टङ्कमणि शर्मा दंगालको अवकाश पछि रिक्त रहँदै आएको महालेखापरीक्षक लामो समयदेखि रिक्त रहँदै आएको थियो। भदौमा माग गरिएको दरखास्तका क्रममा बहालवालादेखि पूर्व सचिवसम्मले इच्छा जताएका थिए।
तर आवेदन परेको महिनौँसम्म पनि महालेखापरीक्षकको नियुक्ति हुन सकेको थिएन।
महालेखापरीक्षक नियुक्तिमा भएको ढिलाइप्रति सर्वोच्च अदालतले पुसमा कारण देखाऊ आदेशसमेत जारी गरेको थियो।
त्यसपछि पनि नियुक्त हुन नसकेको महालेखापरीक्षक तेस्रो कार्यवाहकबाट सञ्चालन हुँदै आइरहेको थियो। लामो रस्साकस्सीपछि आज (आइतबार) महालेखापरीक्षक नियुक्त गरिएको छ।
लो प्रोफाइलको अड्डा तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारी रहेका रायाले चर्चित नामहरूलाई पछि पार्दै अन्तिम चरणमा बाजी मारेका छन्।