काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा सातौं पटक निर्वाचित भएका हुन् ।
देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि मुलुकको छैटौं पटक प्रधानमन्त्री हुने बाटो खुलेको छ । बुधबार बिहानै भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनलाई छैटौं पटक प्रधानमन्त्री हुने बाटो खुलेको हो ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवा आफूलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताउँदै आएका छन् । यद्यपि, अब गठन हुने सरकारको नेतृत्व लिनका लागि उनले आफ्नै दलभित्र संसदीय दलको नेता चुनिन पर्ने हुन्छ ।