काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन्। आज (बिहीबार) प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएको र नेपालमा यात्रा गर्ने विदेशीहरू कम भएकाले पर्यटन व्यवसायमा नकारात्मक असर परेको दाबी गरे। उनले सरकारले हवाई टिकटमा गत वर्षको बजेटमार्फत सरकारले व्यवस्था गरेको १३ प्रतिशत अतिरिक्त कर करेक्सन गर्न आवश्यक रहेको बताए।
अध्यक्ष ढकालले सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको बताए। उनले भारतीय र गैरआवासीय भारतीय नागरिकहरूको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्न सक्ने गरी नीतिगत रुपमा व्यवस्था गर्न आवश्यक रहेको बताए। ढकालले उक्त विवाहका इभेन्ट नेपालमा ल्याउन सके नेपालले धेरै लाभ लिनसक्ने अवस्था रहेको बताए। अध्यक्ष ढकालले सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरू सहज बनाउन आवश्यक रहेको बताए।
उनले पर्यटन बोर्डलाई प्रभावकारी बनाउनको लागि निजी क्षेत्रको समेत सहभागिता गराउन माग गरे। उनले पर्यटन बोर्डमा निजी क्षेत्रको सहभागिताले मात्रै पर्यटन प्रवर्द्धन थप प्रभावकारी बनाउन सकिने बताए। अध्यक्ष ढकालले सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरू तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै विमानस्थल सञ्चालनमा ल्याउन सक्दा मात्रै नेपालमा पर्यटनको धेरै सम्भावना देखिएको बताए।