रुसमा श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय - Chaitanya News
  • 2026-07-24
  • 12:51:31
  • शुक्रबार,साउन ०८, २०८३
  • रुसमा श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

    रुसमा श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

    काठमाडौँ– सरकारले रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले रुसमा श्रम स्वीकृति दिने निर्णय गरेका थिए। राजीनामा दिनु केही दिनअगाडि गरेको उक्त निर्णय आजसम्म गोप्य नै राखिएको थियो। तर, बुधबार एकाएक निर्णय सार्वजनिक गरियो।

    वैदेशिक रोजगार विभागले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने निर्णय सार्वजनिक गरिरहँदा श्रममन्त्री डोलप्रसाद अर्यालले भने रुसमा व्यक्तिगत श्रम स्वीकृति खुला नगरिरहेको भन्दै भाषण गरिरहेका थिए। त्यहीबेला विभागले फागुन ९ र १६ गते श्रम सचिवले निर्णय गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो।

    रुस र युक्रेनबिचको युद्धका कारण २०८० पुस १९ गतेदेखि श्रम स्वीकृति दिने कार्य रोकेको थियो। रुस–युक्रेन युद्धमा नेपाली नागरिकहरूको मृत्यु भएको कारण देखाई परराष्ट्र मन्त्रालयले रुसमा भ्रमण गर्दा कन्सुलर सेवा विभागबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो। रुसमा काम गर्न जाने कामदारहरूको श्रम स्वीकृति समेत रोकिएको थियो। तर, श्रम सचिव भण्डारीले २०८० फागुन ९ गतेको पुनः श्रम स्वीकृति सुचारू गर्ने निर्णय गरेका थिए।

    उनले रुसमा विभिन्न पेशा व्यवसाय गरी नेपालमा बिदामा आएका कामदारहरूको मागलाई सम्बोधन गर्ने भन्दै पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेका थिए । त्यस्तै संस्थागत माध्यमबाट (मेनपावर व्यवसायीबाट) रसियाको Blagoveshchensk Cityस्थित Sinopec Engineering Russia Group LLC कम्पनीमा कामदार पठाउन श्रम स्वीकृति दिने निर्णय समेत गरेका थिए।

    २०८० फागुन १६ गते उक्त कम्पनीका लागि संस्थागत श्रम स्वीकृति दिने निर्णय सचिव भण्डारीले गरेका थिए। सचिव भण्डारीले गरेको उक्त निर्णयबारे मन्त्री अर्यालले भने आफू त्यसबारे अनविज्ञ रहेको बताएका छन्। अर्याल फागुन २३ गते श्रम मन्त्री बनेका थिए। यसअघिका श्रममन्त्री शरतसिंह भण्डारीको पालामा सचिवले गरेको उक्त निर्णय विभागले अहिले सार्वजनिक गरेको हो।