काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा हुने आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरेको छ। आज (बुधबार) क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
यो टोलीले आयरल्यान्डविरुद्धको सुरुवाती दुई खेल खेल्नेछ। यही टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूर्ण शृङ्खला पनि खेल्नेछ। घोषित टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल र विवेक यादव रहेका छन्।
यसैगरी नेपाली टोलीमा सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकाश चन्द पनि रहेका छन्।
नेपालले आयरल्यान्डको ‘ए’ टोलीसँग घरेलु मैदानमा आठ वटा टी–२० खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ। शृङ्खला अर्को साता सुरु हुनेछ।
यसैगरी नेपाली टोलीले भारतमा गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने कार्यक्रम रहेको छ। नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृङ्खला खेल्न लागेको हो।