देशका विभिन्न भागमा बदली र वर्षा - Chaitanya News
  • 2026-05-04
  • 06:49:32
  • सोमबार,बैशाख २१, २०८३
  • देशका विभिन्न भागमा बदली र वर्षा

    देशका विभिन्न भागमा बदली र वर्षा

    काठमाडौँ– आज (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ। यी प्रदेशमा उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ। उता पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रहरूमा भने बादल लागिरहेको मौसमविद्को भनाई छ।

    भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार ‘पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो। मिडिटेरियन सी बाट आएको वायुको प्रभावका कारण वर्षा र बादल लाग्ने भइरहेको छ। आज कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रका केही ठाउँमा सामान्य वर्षा भइरहेको छ।

    अहिले मनसुन पूर्वको समयमा यसरी वर्षा हुनु सामान्य भएको बताउँदै वर्षा र बादल लाग्ने क्रम झन्डै ३ दिनपछि हटेर जाने उनले बताए। अलि अलि पानी परे पनि ठुलो झरीको रूपमा भने वर्षा नहुने मौसमविद् झाले जानकारी दिए।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र कोशी, मधेश र बागमती प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।

    मौसम विभाग, पूर्वानुमान शाखाले बिहीबार र शुक्रबार पनि कोशी, मधेश र बागमती प्रदेशमा पनि बदली र वर्षाको सम्भावना रहेको जनाएको छ।