काठमाडौँ– फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ। फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा मौलिक बाजागाजासहित काठमाडौँको वसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो।
फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौँ तँलाछीका धालासिक्व मानन्धर समूहले वसन्तपुरमा चीर ठड्याएपछि फागु पर्वको सुरुवात भएको छ। विशेषगरी फागुको चीर धालासिक्व मानन्धर सनाः गू खल समाजले चीर ठड्याउँदै आएको समाजका महासचिव गजेन प्रसाद मानन्धरले जानकारी दिए।
चीर बनाउँदा नितान्त जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व शुरु भएको मानिन्छ।
आइतबार बिहान वसन्तपुरको हनुमान ढोका अगाडि शुभ साइतमा नेपाली सेना, गुर्जुको पल्टनलगायतको सहयोगमा चीर ठड्याएको हो।
काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा चैत ११ गते होली खेलेर फागु पर्व मनाइँदै छ भने तराई मधेशका विभिन्न जिल्लामा चैत १२ गते फागु पर्व मनाइने छ।