काठमाडौँ– उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने बताएका छन्। आज (शुक्रबार) विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।
सभापति खांनले सरकारले बजारलाई सुरक्षित, मर्यादित, नियमित र संरक्षित गर्न सक्नुपर्ने बताए। उनले मुलुकमा सुशासनको परिकल्पना गर्नु भनेको बालुवामा पानी खनाउनु सरह भएको बताए।
सभापति खांनले मुलुकमा उत्पादन बढाएर वितरण गरी उपभोगसम्म पुग्नुपर्ने बताए। उनले उत्पादन वृद्धि, वितरण गरी उपभोक्ता माझ पुर्याउने कुरालाई सरकारले नियमन गर्न सक्यो भने मात्रै बजार सुरक्षित, नियमित र असल हुने विश्वास व्यक्त गरे। उनले बजार असल हुने बित्तिकै सम्पूर्ण जनता पनि सुरक्षित हुने बताए।
सभापति खांनले राज्य उपभोक्ताको विषयमा कमजोर भन्दा पनि निर्मम हुन आवश्यक रहेको बताए। उनले राज्यले बाल प्रवृत्ति देखाउँदा उपभोक्ता र उपभोग्य वस्तुमा गुणस्तरहीनता आउने गरेको बताए। उनले सरकारले कसैको दबाबमा खानेकुरा देखेपछि उतै लम्कने प्रवृत्ति हटाउनुपर्ने बताए। उनले राज्य निर्मम भएपछि मात्रै मुलुकमा सुशासन कायम गर्न सकिने बताए। उपभोक्ता र उपभोग्य वस्तुसम्बन्धी भएका नियम, कानुनहरू समयमा नै कार्यान्वयन र संशोधन गरे मात्रै कानुनी राज्यको जनतामा आभास हुने उनको भनाइ छ। उनले सरकारले गुणस्तरहीन वस्तु उत्पादन र व्यापार गर्नेलाई नियमन गर्न खुट्टा कमाउनु नहुने उल्लेख गरे।
अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले स्वच्छ र प्रतिस्पर्धी बजार अहिलेको आवश्यकता भएको बताए। उनले निजी क्षेत्रले गुणस्तरीय वस्तु उत्पादन, नाफा र अर्थतन्त्रमा योगदान गर्नुपर्ने विषय उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई नचाहिने भन्ने नहुने बताए । उनले निजी क्षेत्र सबल नभएसम्म निजी क्षेत्रले गुणस्तरीय वस्तु उत्पादन गर्न नसक्ने बताए। उनले सरकारी निकायहरू कारबाही गर्नकै लागि खडा नभएको बताए। उनले उपभोक्ता कर्मीले उठाएका विषयमा निजी क्षेत्रलाई कारबाही गर्ने मात्रै नभएर उपभोक्ताको हितमा काम गर्ने सरकारी निकायहरू उपभोक्ताहरूको अधिकार सुरक्षित गर्न र निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्नेगरी खडा भएको बताए।