काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन्। प्रतिनिधि सभामा बुधबार विश्वासको मत लिने क्रममा उनले अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचकहरू राम्रो हुँदै गएको बताए।
उनले भने, ‘चालु आर्थिक वर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले शोधनान्तर बचत छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘विदेशी विनिमय सञ्चिती १९ दशमलव ९ प्रतिशतले वृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैयाँ बराबर पुगेको छ।
व्यापार घाटा एक दशमलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै उनले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फीति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको भन्दै कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको बताए ।
उनले भने, ‘विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रूपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन, पुँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन। राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ। बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरूको आधार ब्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर घटेको पनि उनको भनाई छ।
उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि बताए।
त्बनक स् पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री