काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।
आज (बुधबार) विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको समेत बताए।
उनले भने, ‘चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ। यो पनि सानो उपलब्धि होइन। तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ।’जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्व मञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संयुक्तराष्ट्र संघका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोपû २८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको बताए।
‘हामीले सन्देश दियौँ, अब जलवायु संकटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ। सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन्,’उनले भने।