काठमाडौँ– उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ।
यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए। विष्टले भने, ‘यस सुविधाले क्यान्सरसँग लडिरहनुभएका हरेक बिरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका छौँ। निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका बिरामीहरूले उपभोग गर्न पाउनुहुनेछ। विराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौँ।
निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ। अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्ररपरिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिट्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिइन्।
त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेस गर्नुपर्ने एयरलाइन्स जानकारी दिएको छ।