वाशिङ्टन डीसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी युद्ध रोक्न प्रयास गर्ने वाचा गरेका छन्। आइतबार विश्वभरका मुस्लिम समुदायलाई रमजानको शुभकामना दिने क्रममा उनले यस्तो वाचा गरेका हुन्।
सन्देशमा उनले इजरायल–हमास द्वन्द्वको उल्लेख गर्दै इजरायली बन्धकहरूको रिहाइसँग सम्बन्धित सम्झौता अन्तर्गत गाजामा कम्तीमा ६ हप्ताका लागि तत्कालै युद्ध विराम गराउन अमेरिकाले काम गरिरहने बताएका थिए।
‘हामी दिगो र दूरगामी स्थायित्व, सुरक्षा र शान्तिपूर्ण भविष्यका लागि काम गर्न जारी राख्नेछौँ। प्यालेस्टाइन र इजरायलका जनताले समान स्वतन्त्रता, मर्यादा, सुरक्षा र समृद्धिको उपभोग गर्न इजरायल र प्यालेस्टाइनबीच सहमतिमा गराउने प्रयास जारी राख्नेछौँ। यो दिगो शान्तिको एक मात्र बाटो हो।बाइडेनले भनेका छन्। गाजामा स्थल, हवाई र समुद्री मार्गबाट अधिकतम मानवीय सहायता पुर्याउन अमेरिकाले अन्तर्राष्ट्रिय प्रयासलाई निरन्तरता दिने पनि उनले बताए। एजेन्सी