काठमाडौं– पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ। हाम्रो शरीरको २र३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्।
पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन् ।खाना खाने बित्तिकै पानी नखान चिकित्सकहरू सुझाव दिन्छन्। खाना खाने बित्तिकै पानी पिउनाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ।
खाना खाएको कति समयपछि पानी पिउने?
हामीले खाएको खाना पचाउन करिब २ घण्टाको अवधि लाग्ने चिकित्सकहरू बताउँछन्। यहीबिच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ। त्यसैले खाना खाएको करिब ४५ देखि ६० मिनेटपछि मात्र पानी पिउनु पर्छ र खाना खानु आधा घण्टा पहिले पानी पिउनु पर्छ।
सही समयमा पानी पिउनुका फाइदाहरू:
–खाना खाएको एक घण्टापछि पानी पिउनाले तौल नियन्त्रण हुन्छ।
–सही समयमा पानी पिउनाले पाचन प्रणाली राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ।
–पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन।
–सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्याउँछ।