काठमाडौँ– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ को सात महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ। तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५।०१ प्रतिशत रहेको छ। यस्तै आयात २।३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ।
यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१।६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडले बचतमा रहेको बैंकले जनाएको छ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु.५६७ अर्ब ४० करोड रहेको छ। बैंकका अनुसार विस्तृत मुद्राप्रदाय ७.० प्रतिशतले बढ्नुका साथै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७।० प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ। यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको पनि बैंकले जनाएको छ।