काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार) १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। मंगलबार अर्थात् फागुन २२ गते जारी गर्नेगरी राष्ट्र बैंकले ९१ दिने र १८२ दिनेगरी दुई किसिममा कूल १३ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो।
तथापि, ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन्। बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ७ अर्ब रुपैयाँ छुट्याइएको छ। उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ।
यसअघि राष्ट्र बैंकले फागुन १४ गते १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो।