पोखरा– गण्डकी प्रदेश सरकारले चालू हिउँदे अधिवेशनमा दर्जन भन्दा बढी विधेयक ल्याउने तयारी गरेको छ। बुधवारदेखि अधिवेशन सुरु भएको छ। पहिलो दिन यसअघि संसदीय समितिमा छलफलका क्रममा रहेको आम सञ्चार विधेयक र बिउ बिजनसम्बन्धी विधेयक संशोधित प्रतिवेदन सहित संसदमा पेस गरिएको छ।
पहिलो बैठकमा प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक पनि ‘टेबुल’ गरिएको छ। सडकसम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता भएको छ। यही अधिवेशनमा सरकारले जीवनाशक विषादी व्यवस्थापन विधेयक, साझेदारी फार्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक ल्याउने बताएको छ।
यस्तै, जनस्वास्थ्य विधेयक, भूमि विधेयक, दलित सम्बन्धी विधेयक, खाद्य विधेयक, विद्युत् र जलश्रोत विधेयक ल्याउन तयारी भइरहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए। उनकाअनुसार यही अधिवेशनमा घरेलु मदिरा नियमन र व्यवस्थापन विधेयक तथा गाँजा खेती गर्ने विधेयक पनि ल्याउन लागिएको छ।
दुवै विधेयकको मस्यौदा सरकारले बनाइसकेको छ। यसमा सरोकारवाला र विज्ञहरूसँग छलफल गरिरहेको उनले बताए। ‘हिउँदे अधिवेशनमा सकेसम्म धेरै विधेयकहरू सरकारले ल्याउन लागिरहेको छ। केही विधेयकको मस्यौदा बनिसकेको छ, केही बाँकी छन्,’ उनले भने। स्थापनादेखि हालसम्म प्रदेशसभाबाट ६६ वटा ऐन पारित भैसकेको छ। थप ३८ वटा विधेयक सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने विवरण प्रदेश सरकारले निकालेको प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले बताइन्।