आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता - Chaitanya News
  • 2026-06-03
  • 22:18:45
  • बुधबार,जेठ २०, २०८३
  • आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

    आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।आज (शुक्रबार) चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। यस्तै उनले स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार क्रियाशील रहेको समेत बताए।

    प्रधानमन्त्री दाहालले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिरहेको बताए। उनले देशभरका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब,विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको पनि बताए।

    स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था, लगायत महत्त्वपूर्ण निर्णय भई कार्यान्वयनमा आएको पनि उनले बताए। उनले संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निमित्त नेपाल सरकारले गम्भीर पहल लिइरहेको पनि बताए। उनले सरकारका प्रयासले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास लिएको बताए। प्रधानमन्त्री दाहालले सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ शिराबाट अघि बढाइएको बताए।